काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि आज उजुरी दिन सकिनेछ ।
शुक्रबार अन्तिम नामावली प्रकाशन हुनेछ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि बुधबार मतादाता नामावली सार्वजनिक गरेको थियो ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा सात वटै प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन् । राष्ट्रपति निर्वाचनका लागि स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले बुधबार सार्वजनिक गरेको मतादाता नामावलीमा संघीय संसद्का तीन जना सांसद बाहेकको नाम छ।
राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का ३३१ र प्रदेश सभाका ५५० गरी कूल ८८१ जना मतदाता रहने छन् । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका तीन सदस्यको नाम नामावलीमा छैन ।




















