काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेपाल बाल मन्दिरको जग्गा आफूखुसी भोगचलन गरेको बिषयमा छानविन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छिन् ।
प्रतिनिधिसभाको वैठकमा बोल्दै उनले बाल मन्दिरको जग्गालाई कौडीको भाउमा बहालमा लगाउनेहरु कहलिएका व्यक्तित्व र व्यवसायी घरानाहरु भएको आरोप लगाएकी छिन् ।
उनले बाल मन्दिरको मात्रै २८ रोपनी जग्गा त्यहाँका पदाधिकारीले आफूखुसी भोगचलन गर्न प्रतिष्ठित व्यक्ति र घरानालाई दिएकोलगायतका विषयमा छानवीन गर्न गठित सो आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गर्नुपर्ने बताएकी हुन् ।
सांसद श्रेष्ठले नेपाल ललितकला प्रतिष्ठानको २९ रोपनी जग्गा समेत दूरुपयोग गर्ने काम भईरहेको भन्दै त्यसमाथि निगरानी राख्न पनि सरकारलाई सचेत गराइन् ।
त्यस्तै बैठकमा सांसद प्रेम सुवालले पूर्वाधार विकास गर्दा स्थानीयको भावनालाई सम्बोधन गरि काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।





















