काठमाडौँ । एमालेका सांसद रघुजी पन्तले भारतीय विदेशी सचिव विनयमोहन क्वात्राको पछिल्लो नेपाल भ्रमणमा भएका गतिविधिप्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पन्तले परराष्ट्र मन्त्रालयलाई विदेशीका नेपालमा हुने भेटहरू नियमन गर्न पनि माग गरेका छन् ।
राष्ट्रपति निर्वाचनको पूर्वार्द्धमा भारतीय सचिवको नेपाल भ्रमण र भारतीय पूर्वप्राध्यापक एसडी मुनीले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति पन्तले आक्रोश व्यक्त गरेका हुन् ।
परराष्ट्र मन्त्रालयले विदेशी पदाधिकारीका भेटहरूलाई कसरी गर्ने भन्ने विषयमा निश्चित प्रक्रिया बनाउनुपर्ने पन्तको भनाइ थियो ।
भारतका लागि नेपाली राजदूतले विदेशमन्त्रीसँग सम्म भेट नपाउने तर भारतीय राजदूत र सचिवहरू भने नेपालमा निर्वाध जोकसैसँग भेट पाउने सही नभएको पन्तको भनाइ थियो । भारतको जेएनयूका पूर्वप्राध्यापक एसडी मुनीले नेपालमा कसलाई राष्ट्रपति बनाउने भनेर लेखेको ट्विटप्रति पनि पन्तले आपत्ति जनाएका छन् ।
हामीले हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा भारतको एउटा जेएनयूको पूर्वप्रोफेसरले हाम्रा पूर्वराजदूतको नाम, हाम्रा पूर्वसभामुखको नाम, हाम्रा पूर्वअर्थमन्त्री, मानवअधिकारवादीलगायत तीन चार जनाको नाम यिनीहरू नेपालको राष्ट्रपति हुनको लागि उपयुक्त हुन्छ भनेर लेख्छन्,’ उनले भने ।




















