काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रपतिमा महन्थ ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न नेपाली कांग्रेससँग आग्रह गरेको छ । बुधबार बिहान उक्त पार्टीका शीर्ष नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूलाई भेटेर राष्ट्रपतिमा लोसपाका अध्यक्ष ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न आग्रह गरेका हुन् ।
धुम्बाराहीस्थित देउवा निवासमा बुधबार बिहान अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल, अनिलकुमार झालगायत नेताहरूले राष्ट्रिय सहमतिका लागि ठाकुर सबैभन्दा उपयुक्त पात्र हुने प्रस्ताव गरेका हुन् ।
लोसपाले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समेत नेता ठाकुरलाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन आग्रह गरेका थिए ।
यसअघि ११ पुसमा बनेको एमाले–माओवादीसहितको सात दलीय गठबन्धनमा एमालेबाट राष्ट्रपति बनाउने सहमति थियो । तर, अहिले माओवादीले त्यसबेलाको सहमतिविपरीत राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने प्रस्ताव अघि सारेपछि गठबन्धनमा चिसो पसेको छ । माओवादीले अप्रत्यक्षरुपमा एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग नजिकिन खोजेपछि एमाले अध्यक्ष ओलीले नै लोसपा अध्यक्ष ठाकुरलाई राष्ट्रिय सहमति गरेर राष्ट्रपति बनाउने प्रस्ताव अघि सारेका थिए ।
संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले भने राष्ट्रपतिको निर्वाचनमा आफैँले उम्मेदवारी दिने भन्दै आएको छ । कांग्रेस नेताहरू राष्ट्रपति निर्वाचनपछि कांग्रेस र माओवादीसहितको पुरानै पाँचदलीय गठबन्धन ब्युँतिने दाबी गरिरहेका छन् ।




















