काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । उनले आफूलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन प्रस्ताव लिएर बालकोट गएका हुन्।
उनले आफ्नो नाममा राष्ट्रिय सहमति जुटान भन्दै लबिङ थालेका छन् । मंगलबार दिउँसो ठाकुरसहितका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। उनले राष्ट्रिय सहमति गर्दा आफूहरूको समर्थन रहेको र आफूलाई साझा उम्मेदवारको रूपमा अगाडि बढाउन प्रस्ताव गरेका थिए। उनले यस विषयमा बृहत् छलफल गर्ने आश्वासन दिएका थिए ।
लोसपा नेता राजेन्द्र महतोले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा पनि स्थापित र नेपालको राजनीतिक यात्रामा अहम् भूमिका निर्वाह गरेका ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव गरेको बताए ।
‘प्रचण्डजीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरो गरिरहनुभएको छ। राष्ट्रिय सहमतिका लागि यसका लागि सबैभन्दा उपयुक्त पात्र महन्थ ठाकुर हुन्छ। तपाईंको यो प्रप्ता ठीक छ। कुनै दलसँग स्पष्ट बहुमत छैन । मूल्यमान्यता हिसाबलगायत सबै दृष्टिकोणले महन्थ ठाकुर राष्ट्रपतिका लागि उपयुक्त उम्मेदवार हो,’ उनले भने ।
उनले यस विषयमा सबै दलसँग कुरा गरेर अगाडि बढ्ने बताए। यसै विषयमा छलफल गर्न ओली निवास आएको उनले बताए । छलफलमा ठाकुरसहित राजेन्द्र महतो, अनिल झा र सर्वेन्द्रनाथ सुक्ल र शरतसिंह भण्डारी सहभागी छन् ।




















