काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई बनाउन प्रस्ताव गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भेटेर ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन प्रस्ताव राखेको नेता राजेन्द्र महतोले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले राष्ट्रपतिका लागि ठाकुर पनि उपयुक्त पात्र भएको जवाफ दिएको महतोले बताए । ‘ठाकुर राष्ट्रिय सहमतिको उम्मेदवार होइन कि उपयुक्त पात्र हो र सबैले भनिरहेको हो भन्ने उहाँको जवाफ थियो । तपाईंहरूले नयाँ कुरा भनिराख्नुभएको होइन, सबैलाई थाहा भएकै कुरा हो भन्नुभएको हो,’ उनले भने ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्छ भन्ने धारणा दोहोर्याएको महतोले बताए । प्रधानमन्त्री दाहालले हालसम्म कसैको पनि नाम नलिएको र आफू सल्लाहमा नै रहेको जवाफ लोसपाका नेताहरूलाई दिएका थिए ।
राष्ट्रपतिका लागि फागुन १३ मा मनोनयनका लागि निर्वाचन आयोगले मिति तय गरेको छ । राष्ट्रपति निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुने भएको छ ।




















