काठमाडौँ । गोंगबुमा तोडफोड र लुटपाट गर्ने मुख्य १२ जना व्यक्तिहरू पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेका अधिकांश व्यक्तिहरू चालक, सहचालक तथा यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीले बताए । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बालाजु र महाराजगन्ज पठाइएको उनले बताए ।
गत सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरेको थियो । योसहित हालसम्म उक्त घटनामा संलग्न १८ जना पक्राउ परिसकेका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीआईजी मसाउद आलम खाँको नेतृत्वमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालसहितको सहभागितामा छानबिन समिति गठन भएको छ । प्रहरी प्रवक्ता डीआईजी पोशराज पोखरेलका अनुसार एक साताभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिइएको छ ।




















