काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा प्रहरीको गाडी, अस्थायी बिट र ट्राफिक आइल्याण्ड आगजनीमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
माछापोखरी चोकमा यातायात व्यवसायहरूले ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा भएको घटनामा संलग्न ६ जनालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा उदयपुरका बिक्रम राई, नुवाकोटका रामहरी भण्डारी, लमजुङका विवके श्रेष्ठ, काभ्रेका राजेश तामाङ, प्युठानका दिपेन्द्र पुनमगर र काभ्रेका आशिष खड्का छन्।
जिल्ला प्रहरी परिसर टेकु काठमाडौंका प्रवक्ता सीताराम रिजालका अनुसार सीसीटीभी फुटेज र सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोका आधारमा पहिचान गरी उक्त कार्यमा संलग्नहरूमध्ये ६ जनालाई नियन्त्रणमा लिइएको हो ।
उनीहरूविरुद्ध मुलुकी अपराध संहिता-२०७४ अनुसार उपराधिक उपद्रव गर्न नहुने कसुरसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मोबाइल लुटपाटमा संलग्न चारजनालाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंका चिरन रेग्मी, नविन खड्गी, रुपन्देहीका सुजन खत्री र झापाका प्रदीप बस्नेत रहेका छन् । फागुन १ गते नयाँ बसपार्कमा भड्किएको आन्दोलनका क्रममा उनीहरुले लोत्सो मलभित्रका पसलबाट मोबाइललगायतका सामानहरु चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट ब्रान्ड न्यु घडी, एयरफोन, मोबाइल, रिचार्ज कार्डसमेत बरामद गरेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई स्क्रिन गर्ने कार्य भइरहेको परिसरका प्रवक्ता रिजालले बताए ।




















