काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले महाशिवरात्रीमा पशुपति परिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
महाशिवरात्रीको पूर्व सन्ध्यामा आयोजित सरसफाइ अभियानमा सहभागी हुँदै मन्त्री किराँतीले त्यस अवसरमा सुरक्षा व्यवस्था बलियो बनाउन सीसीटीभीमार्फत् निगरानी राख्न निर्देशन दिएका हुन् ।
आज “स्वच्छ पशुपति,सफा पशुपति”भन्ने नाराका साथ सुरु भएको सरसफाइ अभियानका क्रममा मन्त्री किरातीले यस क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थानका लागि छुट्टा–छुट्टै ‘डस्टिबिन’राख्न कोषका पदाधिकारीलाई निर्देशन दिए ।
उनले पशुपति क्षेत्रमा आउने दर्शकका लागि सहज शौचालयको व्यवस्था गर्न समेत निर्देशन दिएका छन् ।
पशुपति क्षेत्र सरसफाइ अभियान एक सातासम्म चल्ने छ । महाशिवरात्री नजिकिएसँगै पशुपति परिसर क्षेत्रमा रङरोगन,मर्मत तथा फूल तथा बिजुली बत्ती सजावटको काम सुरु भइसकेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए ।
यो वर्ष फागुन ६ गते महाशिवरात्री परेको छ ।




















