काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारी मात्रामा लागुऔषधसहित चार जना थाई नागरिक पक्राउ परेका छन्। थाईलाइन एयरको उडान नं २२१ बाट बैंकक जान लागेका चारजना थाई नागरिक ३५ किलो चरेससहित पक्राउ परेका हुन् ।
विमानस्थल प्रहरी स्रोतका अनुसार शनिबार साँझ उनीहरू ब्यागेज चेकिङ क्षेत्रबाट पक्राउ परेका हुन् । उनीहरूले सुटकेसमा फल्स बटन बनाई लागुऔषध चरेस लुकाइछिपाइ लैजान लागेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ पर्नेमा परिचार्त पम्पुक, नटनारे त्रिचैया, याउलुक जुब्श्री र नातपोल त्रिचैया रहेका छन् । त्यसमध्ये तीन जना महिला र एकजना पुरुष रहेको प्रहरीले जनाएको छ ।
उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए। उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘अनअराइभल भिसा’ लिएको अध्यागमन कार्यालयले जनाएको छ । थप अनुसन्धानका लागि उनीहरूलाई लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरमा पठाइएको छ ।




















