काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा र शेखर कोइराला समूहनिकट विद्यार्थीबीच ढुंगा हानाहान भएको छ । नयाँ बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच झडप भएपछि प्रहरी परिचालित भएका छन् ।
अध्यक्ष दुजाङ शेर्पामाथि एकलौटी गरेको आरोप लगाउँदै समानान्तर गतिविधि गर्दै आएको इतर समूह भेटघाट कार्यक्रम गर्न क्याम्पस पुगेका बेला संस्थापन समूहले ढुंगामुढा गरेको बताइएको छ।
मीनभवन क्याम्पसमा स्ववियु निर्वाचन विशेष सुझाव संकलन तथा भेटघाट कार्यक्रम गर्न खोज्दा आफूहरुलाई क्याम्पसमा प्रवेश गर्न नै नदिइएको इतर समूहका नेता भुवन भट्टले बताएका छन् ।
अध्यक्ष शेर्पानिकट विद्यार्थीहरुले आफूहरुको कार्यक्रम विथोल्न क्याम्पसमा सय भन्दा भन्दा बढी गुण्डा परिचालन गरेको भट्टले आरोप लगाएका छन् ।
विवाद चलिरहेका बेला भित्रबाट ढुंगामुढा भएपछि बाहिरबाट पनि ढुंगामुढा गर्नु परेको भट्टले बताएका छन् ।
इतर समूहले नेविसंघको वैधानिक पूर्णताको मागसहित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी र संगठन भित्रको एकाधिकारविरुद्ध खवरदारी भेला गर्दै निर्वाचन तयारी समिति गठन गरेर समानान्तर गतिविधि गर्दै आएको छ।




















