काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने दाबी गरेका छन् । उनले समतामूलक समाज निर्माणको आधार नै शिक्षा भएको बताए ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा प्रधानमन्त्रीले यस्तो बताएका हु्न् ।
शिक्षा क्षेत्रमा ठीक ढङ्गले लगानी गरे मात्रै विकास र समृद्धिको जग बसाल्न सकिने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले भने,’जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो । विद्यालय निर्माणका निम्ति मेरो भूमिका छ । म नेपाल सरकार एवं मेरोतर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’
प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधारका साथै शिक्षाको गुणस्तर महत्वपूर्ण भएको भन्दै यसका लागि शिक्षक,विद्यार्थी र अभिभावकको सहकार्य र सम्बन्ध जरुरी रहेको बताए।
“शिक्षालाई प्राथमिकता नदिइकन हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ । शिक्षाको गुणस्तरले मात्र सुशासन,सभ्यता,संस्कृति र विकासको आधार तयार पार्दछ । तसर्थ,शिक्षा नै महत्वपूर्ण क्षेत्र हो’,प्रधानमन्त्रीले भने।
विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको उनले स्मरण गरे।
उनले मुलुकको अर्थतन्त्रमा केही गम्भीर समस्या भएको भन्दै मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताए । “निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधार देखिएका छन् । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ,’ उनले विश्वास व्यक्त गरे ।




















