काठमाडौं । नेकपा (एमाले)का नेता रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरीको अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा महासेठले महतो अहिले पार्टीको सम्पर्कमा नरहेको भन्दै प्रहरी प्रशासनले हिरासतमा लिएको छ भने सार्वजनिक गर्न माग गरेका हुन ।
उनले सांसद कोइरीलाई अपराधीका रुपमा चर्चा नगर्न आग्रह गरेका छन् । उनले राज्य र कानूनले दोषी करार गरिनसकेको सांसदलाई अपराधीको रुपमा हेर्न नहुने जिकिर गरेका छन् । उनले कानूनसम्मत महतो दोषी भए पार्टी नै पक्राउ गर्न सहजिकरण गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
एमालेका सचिव महासेठले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाप्रति लक्षित गर्दै सांसद महतो अपराधी हो भने देउवा नेतृत्वको सरकारले किन कारबाही गरेन ? भनेर विचार गर्न पनि आग्रह गरेका छन् ।
महासेठले जनकपुरमा रोहितकुमार साह र विष्णुकुमार साहको अपहरणपछि हत्यामा संलग्न अपराधीको खोजी गरी कडा कानूनी कारबाही गर्न माग गरेका छन् । अपहरणपछि हत्या गर्ने अपराधी पक्राउ गर्न प्रहरी प्रशासनले सक्रियता नदेखाएको उनले बताएका छन् ।