विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिष्ट पार्टीहरूबीच गहिरो विश्वासको संकट रहेकोले तत्काल एकताको सम्भावना नरहेको बताएकी छन् ।
कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा भएका कार्यक्रममा सहभागी भएर आज काठमाडौँ फर्किने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा भण्डारीले वाम एकता, आफ्नो सक्रिय राजनीतिमा फर्किने सम्भावना लगायतका जिज्ञासाहरूको जवाफ दिएकी थिइन् ।
झापामा पार्टी कार्यक्रममा उपस्थिति
भण्डारीले आफू जन्मेदेखि अहिलेसम्म एउटै वामपन्थी लाइनमा रहेको बताइन् । “म जहाँ जन्में, हुर्कें र यो स्थानमा पुगें, त्यो समाजबाट आजको मितिसम्म आउँदाखेरि एउटै लाइनमा म छु,” उनले भनिन् । आफू राष्ट्रपति हुँदासम्म पनि नेकपा एमालेकै प्रस्तावमा अन्य वामपन्थी र क्षेत्रीय दलहरूको समर्थनमा राष्ट्रपति बनेको उनले स्मरण गरिन् । उनले आफू पार्टीगत रूपमा नेकपा एमालेमै सक्रिय रहने स्पष्ट पारिन् । समृद्ध राष्ट्रको परिकल्पना, नेपाली विशेषताको समाजवादको कार्यान्वयन र न्यायपूर्ण समाज निर्माणको एजेन्डामा आफू सक्रिय रहने उनको भनाइ थियो ।
केपी ओलीको ‘गुटबन्दी’ अभिव्यक्ति र आफ्ना प्रतिस्पर्धी
अध्यक्ष ओलीले पार्टीमा गुटबन्दीबारे दिएको अभिव्यक्ति आफूप्रति लक्षित नभएको भण्डारीले दाबी गरिन् । “उहाँले मलाई नै तोकेरै, ताकेरै भन्नुभयो होला भन्ने त लाग्दैन,” उनले भनिन्, “कहिले गुट नगरेर म मूलधारको राजनीति गरिराखेको मान्छे, उहाँले त्यो भन्नै मिल्दैन ।” उनले अध्यक्ष ओलीले आगामी महाधिवेशनमा नेतृत्व निर्माणबारे कार्यकर्तालाई आश्वस्त पार्न त्यस्तो बोलेको हुन सक्ने अनुमान गरिन् । आफूले कुनै व्यक्तिगत आकांक्षा नराखेको र राष्ट्रिय आकांक्षा पूरा गर्न जहाँ जसरी हुन्छ काम गर्ने उनको भनाइ थियो ।
देश दौडाहाका लागि पार्टीको अनुमति
भण्डारीले देशको राष्ट्रपति भइसकेको र संगठित सदस्यता लिनुअघिदेखि नै पार्टीमा काम गरेकोले देशभित्र घुमफिर गर्न एमालेका कमिटी वा नेताहरूसँग अनुमति लिइरहनु नपर्ने बताइन् । उनले समाजसँग साक्षात्कार गर्न र जनताका विचार तथा नयाँ पुस्ताको आकांक्षा बुझ्न आफू घुमफिरमा निस्किएको स्पष्ट पारिन् । “नयाँ पुस्ता चाँडै आर्थिक विकास गर्ने व्यग्र प्रतीक्षामा छन्,” उनले भनिन् ।
वाम एकताको सम्भावना
पूर्वराष्ट्रपति भण्डारीले नेपालमा वाम एकताको चर्चा पहिलेदेखि नै भए पनि अहिलेसम्म नटिकेको बताइन् । उनले पार्टी-पार्टीहरूबीच विश्वासको ठूलो संकट रहेकोले तत्काल वाम एकता भइहाल्छ भन्नेमा आफू आश्वस्त नरहेको धारणा राखिन् । उनले वामपन्थीहरूबीच मात्र नभई, देशका ठूला र जिम्मेवार पार्टीहरू तथा नयाँ दलहरूबीच पनि राष्ट्रिय एजेन्डामा राम्रो छलफल गरेर एकताका साथ अगाडि बढे राष्ट्रलाई राम्रो हुनेमा जोड दिइन् ।