काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को अन्तिम खेलमा पोखरा एभेन्जर्सले उत्कृष्ट जित निकाल्दै प्रतियोगिताको समापन गर्यो। प्लेअफ दौडबाट बाहिरिइसके पनि पोखराले चितवन राइनोजलाई ८ विकेटले पराजित गर्दै सान्त्वना जित हात पारेको हो।
चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो। पोखराका एडम वासिङ्टनले ४८ बलमा ६५ रनको धुवाधार इनिङ खेले, जसमा ४ चौका र ५ छक्का सामेल थिए। उनले अर्जुन कुमालसँग पहिलो विकेटका लागि १०० रनको साझेदारी बनाए। अर्जुन ४३ रनमा अविजित रहे भने कप्तान कुशल भुर्तेल ४ रनमा आउट भए, जेशन रोय ६ रनमा अविजित रहे। चितवनका सैफ जैइव र रिजन ढकालले एक–एक विकेट हात पारे।
यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो। चितवनका देव खनालले ३५ रनसहित टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए।
अल्पेश रामजानीले ३३ रन बनाए भने डेविड मलान ५, अर्जुन साउद १, रवि बोपारा १, सैफ जैइव १७ र कप्तान कुशल मल्ल २३ रनमा आउट भए। कमलसिंह ऐरी २ रनमा अविजित रहे। पोखराका धनन्जय लक्षन सर्वाधिक प्रभावी बने, उनले ३ विकेट लिए। त्यसैगरी विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक–एक विकेट हात पारे ।

























