काठमाडौं । नेपालको समग्र अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा यस वर्ष लयमा फर्किएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार, अधिकांश सूचकहरू अघिल्लो सरकारको पालाको भन्दा सकारात्मक देखिएका छन् ।
यस वर्ष समग्र मूल्यवृद्धि दर घटेको छ भने विदेशी मुद्रा सञ्चिति र सरकारी मौज्दात दुवै बढेका छन् । राष्ट्र बैंकका अनुसार, उपभोक्ता मूल्यवृद्धि दर २.७७ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.४० प्रतिशत थियो । तथ्यांकअनुसार, शहरमा भन्दा गाउँमा महँगी बढेको पाइएको छ ।
आर्थिक सूचकहरूमा सुधार:
- सरकारी मौज्दात: वैशाख महिनामा सरकारको खातामा ३ खर्ब ६० अर्ब रुपैयाँ मौज्दात कायम छ।
- सोधनान्तर स्थिति: सोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ।
- आयात र निर्यात: समग्र आयात १३ प्रतिशतले बढेको छ भने निर्यातमा ७३ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ।
- रेमिट्यान्स: एक महिनामै १ खर्ब ६५ अर्बको रेकर्ड कायम गर्दै समग्र रेमिट्यान्स १३.२ प्रतिशतले वृद्धि भएको छ।
- विदेशी मुद्रा सञ्चिति: कुल विदेशी मुद्रा सञ्चिति १८ अर्ब ४० करोड अमेरिकी डलर कायम छ।
- राजस्व परिचालन: राजस्व परिचालन ९२२ अर्ब ४३ करोड रुपैयाँ रहेको छ।
- मुद्रास्फीति: मुद्रास्फीति दर २.७७ प्रतिशत कायम छ।
विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो:
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिना (वैशाख मसान्त) को वित्तीय विवरणअनुसार, मुलुकको विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ नाघेको छ। गत असार मसान्तको तुलनामा वैशाखसम्म आउँदा मुद्रा सञ्चिति रकम २३.१ प्रतिशतले बढेको हो।
अमेरिकी डलरमा हेर्दा, वैशाख मसान्तसम्म सञ्चिति रकम १८ अर्ब ४० करोड डलर बराबर रहेको राष्ट्र बैंकले जनाएको छ, जुन असार मसान्तको तुलनामा २०.५ प्रतिशतले बढेको हो।
कुल सञ्चिति रकममध्ये २२ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ राष्ट्र बैंकसँग छ भने बाँकी ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थासँग रहेको छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८१/८२ को दश महिनाको आयातलाई आधार मान्दा, बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।