काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चुनाव प्रचारका क्रममा बोलेका कुराको हेक्का आफूलाई रहेको बताएका छन् । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् अभियुक्त समातिने बताएका हुन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, पुराना ‘फरार’हरू समातिन्छ्न् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ । हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरुको हेक्का छ । मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु । धुलो धेरै छ, पुरानो छ । थोरै पर्खिनु चाहिँ पर्छ ।’
आफूले बोलेका शब्दशब्दको हेक्का र भोट माग्दा गरेका वाचाहरूको हेक्का रहेको भन्दै मन्त्री लामिछानेले सबै फरार समातिने र नयाँ फरार हुन नदिने बताए ।
यसअघि मन्त्रालयले एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्रन प्रहरीलाई निर्देशन दिएको थियो । सांसद कोइरी सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा फरार अभियुक्त हुन् । सांसद कोइरी पक्राउ नपरेको विषयमा प्रतिनिधि सभा बैठकमा समेत नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएका थिए ।
गृहमन्त्री लामिछानेले विधि र प्रक्रिया पालना गर्ने जवाफ दिएका थिए । कोइरी प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसद बैठकमा उपस्थित भए पनि सभामुख निर्वाचनको दिन अनुपस्थित भएका थिए । कोइरी महोत्तरी १ बाट निर्वाचित सांसद हुन् ।
२०७२ साल भदौ २५ गते मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो ।





















