हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । उनलाई १०५ सांसदले विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका हुन् । प्रदेश सभाका सभामुख भुवन पाठकले प्रस्तावको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको सदनलाई जानकारी दिए । ११० सदस्यीय प्रदेशसभामा १ जना सांसद अनुपस्थित रहेका थिए ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएको छ भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातमध्ये ६ दलले उनलाई विश्वासको मत दिए ।
पुस २५ गते मुख्यमन्त्री नियुक्त हुँदा जम्कट्टेललाई नेपाली कांग्रेसले समर्थन गरेको थिएन । नेपाली कांग्रेस कार्यसम्पादन समितिको मंगलबार बिहान बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो ।
प्रदेशसभामा ३ जना मात्र सांसद रहेको नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले विपक्षमा मतदान गरेको छ । अब बागमती प्रदेश सभामा नेमकिपा मात्र प्रतिपक्षी दलका रुपमा रहेको छ ।




















