काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीनजना शीर्ष नेताहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन् ।
शीर्ष नेतात्रय शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालप्रति औंल्याउँदै महामन्त्री थापाले मंसिर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति नेतात्रय एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको जिकिर गरे ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले त्रय नेताहरुबीचको झेलबाट मुलुकलाई जोगाउन आफूले २/४ दिन भए पनि मुलुकको नेतृत्व गर्नका लागि प्रधानमन्त्री बन्छु भनेर निर्वाचनको बेला भनेको स्मरण गराए । महामन्त्री थापाले तीनै दलमा नेतात्रयले आफ्नो अकन्टक नेतृत्व रहने गरी सदस्यता वितरण गरेकाले यसबाट मुक्ति पाउने विषयमा विचार गर्नुपर्ने धारणासमेत राखे ।
नेपालको राजनीतिलाई सही ठाउँमा ल्याउन संसदमा सबै राजनीतिक दलका सांसदहरुले मिलेर बहसलाई अघि बढाउनुपर्ने भनाइ महामन्त्री थापाको थियो ।




















