काठमाडौं । लामो समय नेकपा एमालेमा रहेर राजनीति गर्दै आउनु भएको नेता घनश्याम भूसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
गत मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि एमाले परित्याग गरेर स्वतन्त्र उम्मदेवारका रुपमा चुनाव लड्नु भएको भुसाल अन्तत एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको उनले शुक्रबार पत्रकार सम्मेलन गरी बताए ।
‘आज संक्षिप्त दस्तावेज मैले जुन पढेको छु । त्यसमा नेकपा एकीकृत समाजवादी त्यही ठाउँमा छ जहाँबाट यसले समग्रतामा हेर्न सक्छ’ उनले भने । सैद्धान्द्धिक रुपले र वर्तमानमा बसेर इतिहास हेर्दै अगाडि बढ्न सकिने ठाउँ पनि एकीकृत समाजवादी भएको भुसालको भनाइ छ ।
भुसालले केपी ओलीका कारण मुलुकले दुःख पाएको भन्दै अब नेकपा एस कसैको विशेषाधिकार नभएको लोकतान्त्रिक पार्टी बन्ने समेत बताए । उनले ओलीले राजनीतिलाई षडयन्त्र र झुट फरेबी हो भन्ने ठाउँमा पुर्याएको आरोप लगाए ।
भुसालले ओलीमाथि संविधानविरोधी, लोकतन्त्र विरोधी, सिद्धान्त र विचार विरोधी, तर्क र विज्ञानको विरोधी, असहिष्णुजस्ता आरोपहरु लगाउँदै एमालेमा अब सौराहा काण्डवादीहरुमात्र रहेको समेत आरोप लगाए ।




















