काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माणको प्रगति तथा अवस्थाबारे अनुगमन गरेका छन् ।
प्राविधिकहरुको टोलीसहित शुक्रबार उनी काठमाडौंको लाजिम्पाट, स्रोहखुट्टे, भैंसेपाटी र ललितपुरको जावलाखेलका सडक अनुगमनमा पुगेका हुन् ।
सडक अनुगमनमा मन्त्री श्रेष्ठसहित मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, क्षेत्रीय सडक प्रमुख, काठमाडौं डिभिजन प्रमुख, मेलम्ची आयोजना निर्देशक र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्ध निर्देशकसहितको प्राविधिक टोली सहभागी छन् ।
लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेर उपत्यकाका विभिन्न स्थानका सडक अलपत्र रहेका छन् बिहीबार मात्रै १५ आयोजनाको काम तोकिएको सीमाभित्र सक्न उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएका छन् ।
मन्त्री श्रेष्ठले बिहीबार सम्बन्धित निर्माण व्यवसायीलाई बोलाएर तोकिएको समय सीमामा निर्माण सक्न लिखित वाचा गराएका थिए ।




















