काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आगामी २८ पुसमा सारिएको छ । यसअघि पुस २२ गतेका लागि बोलाइएको थियो ।
पुस २५ गते प्रतिनिधिसभा बैठक बस्ने भएको र विश्वासको मतका विषयमा संसदीय दल बैठक बस्नुपर्ने भन्दै काँग्रेसले केन्द्रीय समिति वैठक पुस २८ गतेका लागि बैठक सारिएको जनाएको छ ।
नेपाली काँग्रेस सत्ताबाट बाहिरिएपछि बस्न लागेको पहिलो केन्द्रीय समिति बैठक भएकाले पनि चासोपूर्वक हेरिएको छ ।
पार्टी नेतृत्वले समयमै सुझबुझ पुर्याउन नसक्दा सत्ताबाट बाहिरिनुपरेको भन्दै काँग्रेसमा तीव्र असन्तुष्टि बढेको छ ।
सभापति शेरबहादुर देउवाकै कारण सत्ताबाट बाहिरिनुपरेको आरोप लगाइरहेको डा.शेखर कोइराला–गगन थापा समूहको वैठक आज बस्न लागेको छ ।
संस्थापन इतर समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न भेला बोलाएको हो । बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्ने बुझिएको छ ।
नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै इतर समूहका नेताहरू शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री द्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईँलगायत बसेर छलफल गरेका थिए ।



















