हेटौँडा । बागमती प्रदेश सरकार गठनको लागि आह्वान भएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि पुस २५ गतेसम्ममा दावी पेश गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन ।
प्रदेश प्रमुख शर्माले कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूसँगको सहकार्यमा सरकार गठनका लागि आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईँद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रदेश प्रमुखबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २५ गते ४:०० बजेभित्र दाबी पेस गर्न आव्हान गरिएको प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।





















