काठमाडौं । यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको विगविगी छ । प्रहरीले विभिन्न समयमा समातेर कारबाही चलाए पनि उनीहरूको चलखेल रोकिएको छैन ।
काठमाडौं उपत्यकास्थित यातायात कार्यालयमा मंगलबार गरिएको अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो ।
यस क्रममा सेवाग्राहीलाई अनुचित रूपले प्रभावमा पार्ने पाँच र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने कार्यमा संलग्न दुई गरी सात जनालाई पक्राउ गरेको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय तथा काठमाडौंको ठूलो भर्याङ र चाबहिलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले सेवाग्राहीलाई सहजीकरण गरिदिने, छिटोछरितो काम गरिदिने र नपुगेका कागजात पुर्याइदिने भन्दै ठगी गर्ने गरेको पाएको उनले बताए ।
प्रवक्ता रिजालले कुनै पनि सरकारी कार्यालयमा नियमसंगत हुने काममा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारबाहीलाई असर पार्ने बिचौलिया तथा समूहमाथि प्रहरीले निगरानी तथा कारबाही बढाएको बताए ।
यस्तो सूचना आए प्रहरीको हटलाइन १०० र १०३ मा फोन गरी जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ ।




















