काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ ।
मंगलबार सम्पन्न राजनीतिक समितिको बैठकले आफूहरूको सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने नभए बाहिर बसेर समर्थन गर्ने निर्णय गरेको हो ।
राजनीतिक समितिमा सरकारमा जाने नजाने विषयमा सदस्यहरूको मत बाझिएको थियो । तर बहुसंख्यक सदस्यहरू सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरू समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको पार्टी प्रवक्त मनिषकुमार सुमनले जानकारी दिए ।
बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको प्रवक्ता सुमनले बताए ।
बैठकले चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरूबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति पनि गठन गरेको छ । चुनावमा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेहरूलाई भने सम्बन्धित समितिले विधानअनुसार कारबाही गर्ने राजनितिक समितिले निर्णय गरेको छ ।
त्यस्तै विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको प्रवक्ता सुमनले जानकारी दिए । समितिमा यादवबाहेक, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोंग, शुशिला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबु राउत, दीपेन्द्र झा, दिपक राई, पंचलाल महर्जन, विरेन्द्र ठाकुर र भगवती सुवेदी छन् ।




















