काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने वा नजानेबारे आज निर्णय गर्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको हिजो शनिबारको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक आज पुनः बस्न लागेको हो ।
शनिबारको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखे । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको छ ।
बैठकमा नेकपा एमालेसँग एकता गर्ने विषयमा नेताहरूबीच मतभिन्नता देखिएको छ । नेताहरुले एमालेसँग मिलेर नगए यसअगाडि पाएका धेरै पद पनि गुमाउनुपर्ने भन्दै नेतृत्वसँग चिन्ता व्यक्त गरेका छन् ।
एकीकृत समाजवादी पार्टी गत मंसिर ४ गते भएको निर्वाचनमा राष्ट्रिय पार्टी बन्न सकेको छैन । कतिपयले एकीकृत समाजवादीका नेतृत्वले पार्टी विघटनको औचित्य पुष्टि गर्न नसकेकाले यस्तो अवस्था आएको बताएका छन् ।
यसैबीच, एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले माधव नेपाललाई हालसम्म राष्ट्रपति बन्न कुनै प्रस्ताव नआएको बताएका छन् । जुन बाहिर भने अध्यक्ष नेपाल राष्ट्रपति बन्ने हल्ला चलेको थियो । तर, यो सम्भावना भने सकिएको छैन ।
एकीकृत समाजवादीभित्र सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा दुई धार छ । त्यसमा पनि सहभागी हुनुपर्छ भन्ने धार ठूलो छ । उनीहरू सरकारबाट मात्रै जनताको सेवा गर्न सकिन्छ भन्ने पक्षमा छन् । तर, सानो भए पनि एउटा जमात भने एमाले सम्मिलित वर्तमान सत्ता गठबन्धनमा सहभागी भए विद्रोहको औचित्य समाप्त हुने अडानमा छन् ।
यसैबीच, एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष जोड दिएका छन् । सत्तासाझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि प्रचण्डको जोडमा सहमत छन् । तर, एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने उचित बहाना कसैले पनि भेटेका छैनन् ।
एकीकृत समाजवादी सरकारमा सहभागी हुनका लागि पहिलो कदमका रुपमा केपी शर्मा ओली र माधवकुमार नेपालबीच संवादको वातावरण बन्नुपर्ने हुन्छ ।
पछिल्लो समय दुई वर्ष लामो संवादहीनता तोडिए पनि औपचारिक संवादको वातावरण बनेको छैन । त्यसैले, ओली–नेपालबीच संवादको वातावरण बनाउने प्रयास जारी छ ।




















