गुलरिया । शुद्ध अवसरको लागि मात्र भएको गठबन्धनबाट निर्मित सरकारको आयु लामो नरहेको नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले बताएका छन् ।
नेपाली कांग्रेस बर्दियाले आयोजना गरेको ४७औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा आयोजित विचार गोष्ठीका प्रमुख अतिथि महतले गठबन्धनभित्रकै विरोधाभाषका कारण सरकारको आयु छोटिने दाबी गरे।
सरकारमा सहभागी दलहरूको सिद्धान्त, विचार नभई अवसरको प्रतिस्पर्धा भइरहेकाले वर्तमान सरकारले नेपाली जनताको अपेक्षाअनुसार काम गर्न नसक्ने जिकिर उनको छ । विविध कोणमा विचार राख्ने पार्टीहरू शुद्ध सरकार र पदका लागि एक ठाउँमा उभिएको बताउँदै अहिलेको सरकारमा गणतन्त्र, राजतन्त्र, संघीयताको पक्ष र विपक्ष, संविधान मान्ने, नमान्ने सबै पार्टीको गठजोठबाट सरकार बनेको स्मरण गराए । ‘नो नट अगेन’ भन्ने नारा दिएर ठूला कुरा गर्दै अहिलेको नेतृत्व काम छैन भन्नेहरू सरकारमा सामेल भएको उनको आरोप छ।
नेपाली कांग्रेस पार्टी सरकारमा नगएको अवस्थाले नेपाली कांग्रेसका आमकार्यकर्ताहरूमा निराशाजस्तो देखिए पनि पार्टीलाई मजवुतका साथ संगठन, विचार र नीति केन्द्रित गरी अघि बढ्ने अवसर मिल्ने विश्वास दिलाए ।




















