काठमाडौं । सत्ता गठबन्धन बाहिरको नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउने गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले भेटवार्तालाई तीव्र बनाइरहेका बेला सरकारमा पुगेका मन्त्रीबीच नै पदीय हैसियतको विषयलाई लिएर मनमुटाव सुरु भएको छ । वरियताक्रममा को ठूलो भन्ने विषयले अनौपचारिक रुपमा गठबन्धनभित्र प्रवेश पाएको छ ।
नवगठित मन्त्रिमण्डलमा प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरियताको पहिलो नम्बरमा छन् । दोस्रो बरियताक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णु पौडेल छन् । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठ तेस्रो वरियताक्रममा छन् । चौथो वरियताक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छन् । कार्यभार नतोकिएका ज्वालाकुमारी साह पाँचौं, दामोदर भण्डारी छैटौँ, राजेन्द्रकुमार राई सातौँ र अब्दुल खान आठौँ वरियतामा छन् ।
यो वरियता क्रममा तेस्रो नम्बरमा रहेका नेकपा माओवादीका नेतासमेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठको असन्तुष्टि छ । उनले आफू दोस्रो मर्यादाक्रममा हुनुपर्ने माग गरिरहेको पार्टीका एक नेताले बताए । नेकपा माओवादी केन्द्र उच्च स्रोतका अनुसार श्रेष्ठ अहिले सरकारमा बस्ने कि बाहिरिने भन्ने दोधारमा छन् । मर्यादाक्रमको असन्तुष्टि उनले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डसँग गरिसकेको ती नेताले बताए।
यही मर्यादाक्रमको असन्तुष्टिकै कारण श्रेष्ठ मन्त्रालय नगएको ती नेताले बताए । शपथ ग्रहणपछि कार्यभार सम्हाल्न मन्त्रालय पुगेका श्रेष्ठ त्यसपछि गएका छैनन् । मन्त्री श्रेष्ठले मन्त्रालय नजानुको कारण भने आफू अस्वस्थ रहेको बताउँदै आएका छन् ।
मन्त्रिपरिषदमा उपप्रधानमन्त्रीको वरियतामा आफू पहिलो हुनु पर्ने अडानसहित श्रेष्ठले प्रधानमन्त्रीलाई दवाव दिइरहेको माओवादी केन्द्रका अर्का नेताले बताए ।
नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले भने अहिले जारी भएको मर्यादाक्रममै बसेर श्रेष्ठले काम गर्नुपर्ने बताएका छन् । यसमा असन्तुष्ट भए श्रेष्ठले ठाउँ छोड्न सक्नुपर्ने सचिव साहको भनाइ छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीमा श्रेष्ठ छैटौं नम्बरमा र अहिले मन्त्रिमण्डलको दोस्रो वरियतामा रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल वरियताको नवौं नम्बरमा थिए । त्यतिबेलाको वरियता अनुसार आफू अहिले पनि अगाडि रहेको भन्दै श्रेष्ठले दावी गरिरहेको माओवादी केन्द्र स्रोतले जनाएको छ ।




















