काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपति पदका लागि दाबी गरेको छ ।
जसपाले सरकारलाई समर्थन गरे पनि सहभागिताको विषयमा भने अहिलेसम्म कुनै निर्णय गरेको छैन ।
प्रधानमन्त्री प्रचण्डले जसपासहित माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउने प्रयास थालेका छन् ।
जसपाले बुधबार रामसहाय यादवलाई संसदीय दलको नेता चुनेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन आवद्ध दलका शीर्ष नेतासँग उपराष्ट्रपति र उपप्रधानसहित तीनवटा मन्त्रालय आफूले पाउनुपर्ने दबाब सुरु गरेका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुन पावर शेयरिङको विषयमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर संवादमा रहेका छन् । उनले प्रधानमन्त्री प्रचण्डसँग औपचारिकरुपमा प्रस्ताव समेत प्रस्तुत गरेका छन् ।
संसदमा १२ सिट रहेको जसपाले मधेशमा मुख्यमन्त्री पाउनुपर्ने अडान पनि राखेको छ । मधेस प्रदेशमा जसपाको १६ सिट छ । जसपाले मधेस सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबीलाई बटमलाइन नै बनाएको छ ।




















