काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठवन्धन भत्किएर नेकपा एमाले नेतृत्वका गठवन्धनले नयाँ सरकार गठन गरेपछि राजनीतिक वृत्तमा अनेकन चर्चा परिचर्चा भइरहेका छन् भने विभिन्न पार्टीले नयाँ परिस्थितिबारे छलफल र समीक्षा गरिरहेका छन् ।
नेपाली कांग्रेसले नयाँ परिस्थितिबारे छलफल गर्न यही पुस २२ गते केन्द्रीय समितिको वैठक बोलाएको छ । नयाँ गठवन्धन बनेपछि कांग्रेस संघदेखि प्रदेशसम्म प्रतिपक्षमा बस्न वाध्य भएको छ । यसलाई कतिपयले भुँइको टिप्न खोज्दा गोजीको पनि खस्यो भन्दै कांग्रेस नेतृत्वको आलोचना गरिरहेका छन् । संस्थापनइतर पक्षले देउवाको सत्ता लिप्सा र सीमित नेताको कुरा सुन्दा कांग्रेसले ठूलो पार्टी भएर पनि अनपेक्षित क्षति भोग्नु परेको आरोप लगाएका छन् ।
यसैबीच नयाँ परिस्थितिबारे कांग्रेसको शेखर कोइराला पक्षका शीर्ष नेताहरूवीच छलफल भएको छ । उनीहरुको वैठकले सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको छ । वैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाको टिम अपरिपक्क र स्वार्थमा केन्द्रित सत्ता लिप्सामा आधारित भएकोले गठबन्ध टुटेको निष्कर्ष वैठकले निकालिएको बताउँदै थप छलफल गर्ने निर्णय भएको बताएका छन् ।
सभापति देउवाको अपरिपक्क, स्वार्थमा केन्द्रित र सत्ता लिप्सामा आधारित राजनीतिले पार्टीलाई नैराश्यता जन्माएको केसीले बताएका छन् ।
गठबन्धन टुटे पनि पार्टी सत्ता बाहिरै बसेर शक्तिको सही ढंगले परिचालन गर्ने र पार्टीलाई सशक्त र मजुवत बनाउने निष्कर्ष कोइराला पक्षले निकालेको छ ।
गठवन्धन बैठकमा संस्थापन पक्षले कुनै पनि छलफल र बैठकमा पार्टीका पदाधिकारीहरूलाई समेत सहभागी नगराएको भन्दै कोइराला पक्षले असन्तुष्टि व्यक्त गरेको छ । पार्टीका महामन्त्री गगन थापाले गठवन्धनको वैठकमा आफूहरुलाई सहभागि गराइएको यस्तो अवस्था आउन दिने दिएनौ भन्दै वैठकमा सहभागी नगराएकोमा असन्तुष्टि जनाइसकेका छन् ।
बालुवाटारस्थित नेता कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले पछिल्लो विकसित राजनीतिक घटना क्रमका बारेमा फेरि समूहको छलफल बोलाउने निर्णय गरेको छ ।
बालुवाटार बैठकमा सहभागी सहमहामन्त्री जीवन परियारले केन्द्रीय सदस्यसहितको बैठक बोलाएर फेरि छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिएका छन् ।
बैठकमा इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालासँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, दिलेन्दप्रसाद बडू, हृदयराम थानी, सरिता प्रसाईंलगायतका नेताहरु सहभागी थिए ।



















