काठमाडौं । जनमत पार्टीले उद्योग मन्त्रालय पाएको छ । सोमबार संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने निर्णय गरेको हो ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीलाई कृषि वा उद्योग मन्त्रालय मागेका थिए ।
सांसदको रुपमा धेरै काम गर्न सक्ने अवस्था नभएकाले आफ्नो दलले सरकारमा जाने निर्णय गरेको अध्यक्ष सीके राउतले बताए । उनले भने, ‘हामीले उद्योग मन्त्रालय पाएको छ, हाम्रो पार्टीको तर्फबाट उपाध्यक्ष अब्दुल खान जानु हुन्छ ।’
प्रतिनिधिसभामा ६ सांसद भएको जनमत पार्टीमा सीके राउत आफैं सरकारमा जानुपर्ने मत थियो । यद्यपि, उनले अहिले आफू सरकारमा नजाने बताएका छन् ।




















