काठमाडौं । सत्ता गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड बालकोट पुगेपछि नयाँ गठबन्धनको छलफल सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीबीच वार्ता भइरहेको छ । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि ओलीलाई भेटेका थिए ।
एमाले अध्यक्ष ओलीलाई भेटेर निस्किएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको आकस्मिक बैठक बोलाएको छ । एमाले र माओवादीसहितको नयाँ गठवन्धनको ढोका खुलेसँगै त्यसमा सहभागी हुनेबारे छलफल गर्न बैठक डाकेको हुन ।
३ वजेका लागि बोलाइएको वैठकको विषय प्रष्ट नभए पनि आगामी सरकारकै विषयमा छलफल गर्न सक्ने राप्रपा महामन्त्री भुवन पाठकले बताएका छन् ।
कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने अडान लिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धन छाडेर बालकोट पुगेका थिए ।
सरकार गठन गर्न २७५ सांसद रहेको प्रतिनिधिसभामा १३८ चाहिन्छ। कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि एमाले ७८, माओवादी ३२, रास्वपा २०, राप्रपा १४ र जसपा १२ गरेर १५६ सांसद पुग्छन् । त्यसो हुँदा सहज रुपमा सरकार गठन गर्न सुविधाजनक बहुमत पुग्ने देखिएको छ । यी दलहरुबीच सहमति जुटमा पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री हुने सम्भावना बढेको छ ।




















