काठमाडौं । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणमा सरकारको नेतृत्व पहिला कसले गर्ने भन्नेमा सहमति जुटाउन बालुवाटारमा बैठक सुरु भएको हो ।
देउवा र प्रचण्डबीच ‘वान टु वान’वार्तापछि सत्ता गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा देउवा, प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु सहभागी रहेका छन् ।
बिहान ९ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि आइतबार बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु थप रणनीति बनाउन आन्तरिक छलफलमा जुटेपछि बैठक बस्न ढिलो भएको हो ।
गठबन्धनको शनिबार बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्याएका थिए । प्रचण्डले यो गठबन्धन नयाँ नभई चुनावअघिकै निरन्तरता भएकाले सरकारको नेतृत्व गर्ने पालो आफ्नो भएको दाबी गरेका थिए । चुनावअघि २३ सिटमा ‘खुम्चिएको’ कांग्रेसलाई प्रधानमन्त्री दिएकाले यसपटक आफ्नो नेतृत्वलाई स्वीकार गर्नुपर्ने अडान उनले सुनाएका थिए ।
तर, सफलतापूर्वक आफूले चुनाव गरेको र पहिलो पार्टी भएकाले कांग्रेस नेतृत्वमै सरकार बन्नुपर्ने अडान देउवाले राखेका थिए ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्याएर प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय दिनुभएको छ । बहुमत पुर्याउने दलले आइतबार ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ । धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६(२) बमोजिम राष्ट्रपतिले आह्वान गर्नुभएको हो ।
तर समयसीमा घर्कदै जाँदा सत्ता बाँडफाँडको टुंगो लागेको छैन । कांग्रेस र माओवादी दुवैले नेकपा एमालेलाई देखाएर बार्गेनिङ गर्दै गठबन्धन छाड्ने ‘धम्की’ दिँदै आएका छन् ।
यसरी नयाँ सरकार गठनको अन्तिम कसरतमा सत्ता गठबन्धनका शीर्ष नेताहरु लागिपरेका छन् ।