काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बिनानिस्कर्ष सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको बैठक आगामी सरकार गठबन्धनभित्रका दलहरुमध्येबाट कसले पहिला बनाउने भन्ने निस्कर्षबिना नै सकिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताए ।
उनले प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने आइतवार बैठक बसेर टुंगो लगाउने बताए । उनले प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण भएको भन्दै मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढ्ने ठूलो कुरा रहेको जानकारी दिए ।
उनले अबको सरकार गठबन्धनकै नेतृत्वमा बन्ने भन्दै गठबन्धनले नै जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने दाबी गरे ।
उनले भने, ‘जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा पनि हामी सहमतिमा पुगेका छौँ । बैठक भोलि फेरि बस्नेछ । भोलि हामीले निर्णय सुनाउनेछौँ । आज धेरै विषयमा गम्भीर रुपले छलफल भयो । छलफल सकारात्मक रुपले अघि बढेको छ । अहिलेको राजनीतिक परिस्थितिका बारेमा छलफल गरेका छौँ । जनताको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको छ । प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण हो । मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढ्ने ठूलो कुरा हो । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ । जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने दिशातर्फ एकजुट भएर अघि बढ्ने बारेमा छलफल भएको छ ।’
मन्त्री कार्कीले जनताको आकांक्षालाई गठबन्धनको सरकार बनाएर तिब्र गतिले अघि बढाएर लैजाने बताए । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार साँझ ५ बजेसम्मको समय दिएकाले नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीचको छलफल तिब्र बनेको छ ।