काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएका छन् ।
आफ्नै नेतृत्वमा सरकार गठनका लागि बहुमत जुटाउन कांग्रेसले सांसदहरुको हस्ताक्षर संकलनसमेत गरेको छ ।
कांग्रेसले शुक्रबार र शनिबार कांग्रेसले हस्ताक्षर संकलन गरेको हो । शुक्रबार हस्ताक्षर नभएका सांसदहरुलाई आज बालुवाटार बोलाइएको थियो ।
सत्तारुढ गठबन्धनभित्रका दुई दल कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस माओवादीलाई बाहिरै राखेर भए पनि सरकार बनाउने कसरतमा जुटेको छ ।
यसैबीच आज बालुवाटारमा भेला भएका कांग्रेसका महिला सांसदहरूले अब पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् ।
शनिवार कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवालाई भेट्दै उनीहरूले यस्तो सुझाब दिएका हुन् ।
गठबन्धनको सरकार बन्न सामान्य बहुमत पुगेको छैन । ८९ सिट जितेर कांग्रेस सबैभन्दा ठूलो दल बने पनि सरकार गठनका लागि बहुमत (कम्तीमा १३८ सिट) आवश्यक हुन्छ । त्यसका लागि कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीको २०, नेकपा एसको १०, जनमत पार्टीको ६ र लोसपासहितको जम्मा १४३ सिटसहितको बहुमत जुटाएरै भए पनि सरकार बनाउने कसरतमा छ ।
सत्ता गठबन्धनभित्र सहमति नभए कांग्रेस माओवादीसँगको गठबन्धन तोडेर भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउन चाहन्छ ।
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा भोलि आइतबार साँझ ५ बजे सकिँदैछ ।
समयभित्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई दाबी पेस गराउन कांग्रेसले खाली कागजमा हस्ताक्षर गराएको हो ।