काठमाडौं । नावालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा आज पेशी तोकिएको छ ।
नाबालिका जबरजस्ती बलात्कार मुद्दामा जेल चलान भएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता गरेका मुद्दाको पेशी आजका लागि तोकिएको हो ।
धरौटी वा साधारण तारेखमा छाड्न उनलाई न्यायाधीशले अस्वीकार गरेका थिए । सन्दीप थुनामुक्त हुनुपर्ने माग उनका कानुन व्यवसायीले राखेका छन् । सन्दीप हाल केन्द्रीय कारागार सुन्धारामा रहेका छन्।
सन्दीपलाई १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी थिइन्। सन्दीपले भने इन्कारी बयान दिँदै आएका छन्। अर्कातर्फ आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको तर्क सन्दीपका कानून व्यवसायीको छ ।
आरोप लगाउने किशोरीले जन्म दर्ता सच्याउँदै प्रतिलिपि जन्म दर्ता बनाएर उमेर घटाउँदै नागरिकता बनाएकोको दाबी उनीहरूले गर्दै आएका थिए । यसैबिच पीडितलाई जन्म दर्ता जारी गर्ने नुवाकोटको एक गाउँपालिकाले २०७५ सालमा बनाइएको जन्मदर्तामा उनको जन्ममिती २०६१ असार १८ गते रहेको पत्र काठमाडौं जिल्ला अदालतलाई पठाएको छ।
अनुसूची फारम र बसाइसराइमा समेत जन्ममिती त्यही रहेको उक्त गाउँपालिकाले पत्र पठाएको छ। उक्त गाउँपालिकाले २०७९ असारमा पीडितले उमेर घटाउँदै २०६२ जेठ १८ गते जन्मिएको जन्म दर्ताको प्रतिलिपि निकालेको पनि पत्रमा उल्लेख गरेको छ।
नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी हिरासतमा राखेको थियो ।




















