काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका निर्वाचित सांसदहरू धर्नामा बसेका छन् । पार्टीका संरक्षक रेशम चौधरीको रिहाइ माग गर्दै प्रतिनिधिसभा र प्रदेशसभाका १६ जना सांसदहरू बुधबार माइतीघरमा मण्डलामा धर्ना दिएका हुन् ।
उनीहरूले रेशम चौधरीसहित निर्दोष थारूहरूको रिहाइ हुनुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र सरकारले ल्याएको अध्यादेश प्रमाणीकरण हुनुपर्ने प्लेकार्डसहित धर्नामा बसेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरूको रिहाइ नभएसम्म धर्ना जारी राख्ने बताइन् । उनले माइतीघरमा नवौं दिन र देशभरि नै थारूहरू स्वतस्फुर्तरूपमा धर्ना बसिरहेका बताइन् ।
‘रेशमजीको रिहाइका लागि देशभरि थारूहरू धर्नामा बस्नुभएको छ। माइतीघरको धर्ना पनि उहाँ नछुटेसम्म जारी रहन्छ,’ उनले भनिन् ।
उनले निर्दोष थारूहरूलाई झुठा मुद्दा लगाएर राजबन्दी बनाइएको भन्दै उनीहरूको यथाशिघ्र रिहाइ हुनुपर्ने बताइन् ।




















