काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । कांग्रेसको पदाधिकारी बैठक अघि उपसभापति खडकाले प्रचण्डलाई भेट गरेको स्रोतले जनाएको छ ।
प्रचण्ड भेट्नमा खड्का आइतबार खुमलटार पुगेका थिए । भेटमा खड्काले कांग्रेसको नेतृत्वमा सरकार गठन हुने र त्यसका लागि सहयोग गर्न प्रचण्डलाई आग्रह गरेका थिए ।
प्रचण्डले शनिबार प्रधानमन्त्री देउवालाई भेटी आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले प्रचण्डसँग कुरा गर्न खड्कालाई खुमलटार पठाएको बालुवाटार स्रोत जनाएको छ । उपसभापति खड्काले दोस्रो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेसले सहयोग गर्ने बताएका थिए ।
जवाफमा प्रचण्डले वर्तमान सत्ता गठबन्धन जोगाउन कांग्रेसले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुपर्ने अडान राखेका थिए । ‘वर्तमान सत्ता गठबन्धन जोगाउने हो भने मलाई प्रधानमन्त्री बनाउनुहोस्,’ प्रचण्ड र खड्काको भेटलाई उदृत गर्दै स्रोतले बताएको छ ।
प्रचण्डले दोस्रो चरणमा माओवादी केन्द्रले कांग्रेसलाई प्रधानमन्त्रीमा सघाउने जवाफ खड्कालाई दिएका थिए ।




















