भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालय भित्रैबाट राष्ट्रपति बनाउने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।
अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालयभित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न तयार रहन समेत आह्वान गरेका छन् ।
भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतको छायाँमा मुलुकको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिहरुले संघर्ष गर्नुपर्ने बताए ।
उनले प्रधानमन्त्री बनाउने र निर्वाचनमा जिताउने काम समेत हालसम्म भारतकै निर्णय अनुसार हुने गरेको जिकिर समेत गरे । रासायनिक मल कारखाना देशभित्रै खोल्न आफ्नो पार्टीले पटकपटक दवाव दिए पनि मन्त्रीहरुले भारतसँग थर्कमान भएर सो कार्यलाई अघि बढाउन नसकेको उनको आरोप थियो ।
अध्यक्ष बिजुक्छेले भारतले नेपालको जलस्रोत उपयोगको चाबी समेत आफ्नो हातमा लिएको, उद्योगधन्दाहरु निजीकरण गरेर आफ्नो इशारामा चलाएको आरोप लगाए ।




















