काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीति तथा कार्यक्रममा मानव अधिकारलाई केन्द्रविन्दुमा राखेको बताएका छन् ।
मानव अधिकार दिवसका अवसरमा शनिबार सन्देश जारी गरी देउवाले विश्वव्यापी रूपमा स्वीकार गरिएका मानव अधिकारअन्तर्गतका प्रायः सबै अधिकारलाई नेपालको संविधानले मौलिक हकका रूपमा स्वीकार गरेको बताएका हुन् । ती अधिकारको हनन भए सक्षम र स्वतन्त्र न्यायपालिकाबाट प्रभावकारी उपचार पाउने विषय संवैधानिक रूपमा नै सुनिश्चित भएको उनको भनाइ छ।
‘मानव अधिकार लोकतान्त्रिक शासन व्यवस्थाको अभिन्न अंग हो। मानव अधिकार विनाको लोकतन्त्र अपूर्ण हुन्छ’, उनले भनेका छन्, ‘म मानवअधिकारको संरक्षण, संवर्धन र कार्यान्वयनप्रति नेपाल सरकारको पूर्ण प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।’
उनले मानव अधिकारसँग प्रत्यक्ष जोडिएका उत्पादन, रोजगारी, क्षमता विकास र सेवा प्रवाहसम्बन्धी सबै कार्यक्रमहरू संघ, प्रदेश र स्थानीय तहका सरकारको समन्वयमा कार्यान्वयन भइरहेका बताएका छन् ।




















