काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई केही दिनयता सत्ता समीकरण मिलाउन भ्याइनभ्याई छ । सोही क्रममा उनले कांग्रेस नेता कृष्ण सिटौलासँग भेटवार्ता गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आएका नेता सिटौला र दाहालबीच सत्ता समीकरणबारे छलफल भएको हो ।
सरकार गठनलगायत समसमायिक विषयमा छलफल गर्न बिहीबार सिटौला सवा ११ बजे खुमलटार पुगेका थिए । प्रचण्ड र सिटौलाबीच एक घन्टा बढी छलफल भएको थियो । कांग्रेसमा संसदीय दलको नेता बन्नका लागि होड चलिरहेका बेला सिटौला खुमलटार पुगेका हुन् । प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउनुपरे सघाउनका लागि सिटौलालाई आग्रह गरेको स्रोतको भनाइ छ । यद्यपि, सत्ता गठबन्धनले कांग्रेस नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति गरेको थियो ।
प्रचण्डले आजै स्वतन्त्रबाट प्रतिनिधिसभामा विजयी भएका प्रभु साहसँग पनि भेटवार्ता गरेका छन् । मंसिर ४ गतेको निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसके पनि प्रचण्डले सरकारको नेतृत्व गर्न शक्ति निर्माण गर्ने अभियानमा जुटेका छन् । उनले साना दलहरूलाई एकीकृत गरेर शक्ति निर्माण गर्ने र कांग्रेससँग सरकारको कार्यकारी पदका लागि बार्गेनिङ गर्ने सोचमा रहेको उनी निकट नेताहरुको भनाइ छ ।
निर्वाचनअघि उनले एकपटक कार्यकारी पदमा पुग्ने आकांक्षासमेत व्यक्त गरेका थिए । निर्वाचनको मतपरिणामसँगै प्रचण्ड नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेटवार्ता गरेका थिए । ती दुवै भेट शक्ति निर्माणकै पहलकदमी भएको निकट नेताहरुको भनाइ छ ।