काठमाडौं । निर्वाचन आयोगले पूर्ण रुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहीता लागू हुने बताएको छ ।
आयोगले आचारसंहीताको कार्यान्वयनको सम्बन्धमा कानूनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहीता लागू हुने र आचारसंहीता निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म जारी रहने बताएको हो ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट आचारसंहीता लागू भएको र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम नआएसम्म रहने स्पष्ट पारेका छन् । उनले समानुपातिक निर्वाचन प्रणालीको मत गणना अहिले जारी रहेकाले आचारसंहिता जारी रहने बताए ।
उनले समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतहरुको टुंगो लागिसकेपछि मतहरुको हिसाव गरेर दलहरुलाई पत्र लेख्ने र दलहरुले प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट सांसदको नाम पेस गर्नुपर्ने उल्लेख गरे । उनले निर्वाचन प्रक्रियाको सम्पूर्ण काम सकिसकेपछि आयोगले राष्ट्रपति समक्ष निर्वाचनको अन्तिम परिणाम बुझाउने र निर्वाचन परिणाम सार्वजनिक गर्ने बताए ।
सहायक प्रवक्ता अर्यालले मंसिर २८ गतेसम्ममा निर्वाचनको सम्पूर्ण काम सकेर राष्ट्रपति समक्ष पेस गर्ने बताए । उनले समानुपातिक मत परिणाम नआउँदासम्म निर्वाचन पूरा भएको नमानिने बताए ।
प्रवक्ता अर्यालले आयोगको योजना अनुसार निर्वाचन नसकिँदा निर्वाचन मत परिणाम आउन केही ढिला भएको बताए ।




















