काठमाडौं । निर्वाचनअघि प्रचारप्रसारका क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले २० लाख समानुपातिक मत ल्याउने दाबी गरेका थिए ।
अध्यक्ष नेपालले सबैभन्दा धेरै मत ल्याएर आफ्नो पार्टी पहिलो बन्ने पनि बताएका थिए । अझ नेकपा एमालेलाई पत्तासाफ गरेर छोड्ने एकीकृत समाजवादीका नेताले बताउँदै आएका थिए । गठबन्धन पनि आफू जित्नेभन्दा पनि एमालेलाई धुलिसाफ पार्नेमै केन्द्रीत भएका एकीकृत समाजवादीका नेताहरुले नै भन्ने गर्थे । तर, एक करोड चार लाख समानुपातिक मतगणना भइसक्दा एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । अर्थात् तीन लाख ल्याउन पनि हम्मे हम्मे परेको छ ।
माधव नेपालले डेढ वर्षअघि मात्र एमाले विभाजन गरेर नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । पार्टी गठन भएको आठ महिनापछि भएको स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले एक महानगरपालिका, एक उपमहानगरपालिकासहित धेरै नगरपालिका र गाउँपालिका जितेको थियो । त्यसैले संसदीय निर्वाचनमा पनि आफ्नो पार्टीले उल्लेख्य मत ल्याउने नेता नेपालको अपेक्षा थियो । तर, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न संघर्षरत छ ।
हालसम्मको मतगणनाले एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी नबन्ने सम्भावना प्रबल छ । अझै स्याङ्जा २, बाजुरा र दोलखाको समानुपातिक मत गन्न बाँकी छ । एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न अझै १७ हजार मत आवश्यक पर्छ । तर, त्यति ल्याउन उसलाई महाभारत नै पर्ने देखिन्छ ।
राष्ट्रिय पार्टी बन्नबाट वञ्चित भएमा एकीकृत समाजवादीले संसद् सचिवालयबाट पाउने सेवासुविधा सबै गुमाउनेछ । त्यति मात्र होइन, राष्ट्रिय पार्टीको हैसियतमा नभई ती सांसद संसदमा स्वतन्त्र दलको हैसियतमा रहनेछन् । बरु एमाले अध्यक्ष केपी ओलीले चुनावी भाषण र मिडियामा दिएको अन्तर्वार्तामा दाबीका साथ माधवकुमार नेपालको पार्टी राष्ट्रिय पार्टी नबन्ने बताएक थिए । चुनावी परिणामले एकीकृत समाजवादी त्यही बाटोमा अग्रसर भएको देखिएको छ ।
एकीकृत समाजवादी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले पनि एमालेभन्दा १ सिट भए पनि बढी जितेर देखाउने बताएको थिइन् । अन्तत: गठबन्धनको साझा उम्मेदवार बनेकी झाँक्री स्वयम् एमालेका गोकर्ण विष्टसँग पराजित भइन् ।




















