काठमाडौँ । रक्तदान जीवनदानको मूल मन्त्रलाई आत्मसात गर्दै पथरी-काठमाडौँ मैत्री समाजले बृहत् खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन भन्ने महान् वाणी बोकेको समाजले आज (शनिबार) काठमाडौँको गौशाला पिङ्गलास्थानमा सो कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा स्वेच्छाले रगतदान गर्नेहरुबाट २५ प्रिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ ।
आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो भन्दै सो समाजसेवी संस्थाले रगत संकलन कार्य गरेको जनाएको छ ।
साबिक पथरी, शनिस्चरे र हसन्दह गा.वि.स बासिहरुको साझाँ संस्थाको रुपमा रहेको पथरी काठमाडौं मैत्री समाजले ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरेको अध्यक्ष लक्ष्मीप्रसाद कोइरालाले जानकारी दिए ।
समाजले अन्य समयमा पनि अस्पतालमा गएर रगत दिनेदेखि उपचार खर्च नभएकोहरुलाई आर्थिक सहयोग संकलन गर्ने लगायत विभिन्न सामाजिक काम गर्दै आएको अध्यक्ष कोइरालाले जानकारी दिए । उनले गरिब जनता विरामी परे रगत पाउन मुस्कील रहेको भन्दै उनीहरुका लागि आफूहरुले काम गरेको समेत दाबी गरे ।
समाजका सचिव अशोक खनालका अनुसार आज २३ जनाले रक्तदान गरेका छन् । ‘पथरी शनिस्चरे नगरपालिकाबाट काठमाडौँ आसपासमा बसोबास गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई समाजमा आबद्ध भएर संस्थाले गरिरहेका सामाजिक गतिविधिहरुमा सहभागी हुन अनुरोध छ,’ सचिव खनालले भने । कार्यक्रममा रक्तदान गर्न उत्साहजनक सहभागिता रहेको थियो ।
नेपालमा बर्सेनि करीब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अप्रेसन पनि पहिलेको तुलनामा बढेकाले रगतको माग आकाशिएको बेला सो संस्थाको रगत संकलन जस्तो महान् कार्यले ठूलो योगदान पुग्ने देखिन्छ ।
आधुनिक विज्ञानले धेरै प्रगति गरेता पनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला पारेका छैनन् । ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको चरम संकट परेको छ ।