गुल्मी । नेपाली काँग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले वर्तमान नेतृत्वबाट अहिले भएका चुनौतीहरुको समाधान हुन नसक्ने बताएका छन् । गुल्मी निर्वाचन क्षेत्र नम्बर– १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. भण्डारीले शुक्रबार सदरमुकाम तम्घासमा पत्रकारसँग भेटघाट गर्दै यस्तो बताएका हुन् ।
उनले वर्तमान चुनौतीको समाधानका लागि नेतृत्वमा पुस्तान्तरण हुन जरुरी रहेको बताए । शारीरिक रुपले अस्वस्थ भएका नेताहरुलाई आराम गर्न पठाएर युवाहरुको हात देशको नेतृत्व चल्न आवश्यक रहेको उल्लेख गरे ।
उनले पार्टीभित्र झगडा नहुने गरी सरकार निर्माणमा आफूहरु लाग्ने बताए । गठबन्धन र प्रतिपक्ष सबैलाई मिलाएर लैजाने बताउँदै नेता भण्डारीले देशलाई सही निकास दिने उल्लेख गरे ।
अहिलेको निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसकेको अवस्थामा फेरि पनि देशमा राजनैतिक अस्थिरताका कारण मध्यावधि चुनावमा देश जान्छ कि भन्ने प्रश्नमा नेता भण्डारीले यसमा आफूहरु अत्यन्तै विवेक पु-याएर काम गर्ने बताए । उनले भने, “मुलुकको विकास र सही निकासका लागि बुद्धि पु-याएर जान्छौं । गठबन्धनलाई मिलाउँछौं । प्रतिपक्षलाई पनि मिलाएर नयाँ धारले जान्छौँ ।”




















