काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री देउवाले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेको स्रोतले बताएको छ । संघ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्ने प्रस्ताव देउवाले गरेको स्रोतको दाबी छ । उनले सरकारमा जान आफू सकारात्मक रहेको बताएका थिए ।
राउतले यसअघि नै सरकारमा जान आफूले विकल्प खुला राखेको बताएका थिए । जनमत पार्टी मधेस प्रदेशमा निर्णायक शक्तिको रुपमा रहेको छ । गठबन्धन गर्दा मधेस प्रदेशमा समेत भागबण्डा गरेर अघि बढ्नेगरी दुईबीच छलफल भएको स्रोतले भन्यो ।
‘संघ र प्रदेशमा कसरी सत्ता सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा उहाँहरुबीच छलफल भएको हो। कांग्रेस नेतृत्वको सरकारले संघ र मधेस प्रदेशमा समेत सहकार्य गर्नेगरी प्रधानमन्त्री देउवाले राउतजीसँग प्रस्ताव गर्नुभएको छ । त्यसमा राउतजी पोजेटिभ देखिनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो ।
यसअघि राउत र कांग्रेस नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको थियो। निधिकै पहलमा राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो।
राउतले सप्तरी २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए । राउतको पार्टीले समानुपातिक थ्रेस होल्ड कटाएको छ । राउतसँग प्रत्यक्ष र समानुपातिक गरी कम्तीमा ५ सिट हुने छ ।




















