काठमाण्डौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको जनादेशबाट स्थिर सरकार नबन्ने दाबी गरेका छन् ।
बिहीवार आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सवमा बोल्दै उनले दिगो आर्थिक विकासको लागि आर्थिक एजेण्डाका बारेमा बोल्दै अहिलेको अभिमतले अस्थिरतालाई नै निरन्तरता दिने दाबी गरे ।
उनले आफूले देशमा स्थिरता दिनका लागि कुनै एक पार्टीले बहुमत ल्याओस् भन्ने चाहेको भए पनि जनादेश त्यस्तो नआउनु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको बताए । उनले राजनीतिक स्थिरताका निमित्त धेरै आश गर्ने ठाउँ नरहेको बताए ।
उपाध्यक्ष पौडेलले नयाँ संविधान निर्माणपछि बनेका हरेक सरकारले गरेका कामहरुको मूल्यांकन हुन जरुरी रहेको बताए । उनले संविधान निर्माणपछि बनेका सरकारका कामहरु वस्तुनिष्ठ ढंगले समीक्षा हुनुपर्ने माग गरेका थिए । उनले नेकपा एमालेको गरेका उपलब्धि र कमजोरीको आफू जिम्मेवारी लिने पनि बताए । उनले नेकपा एमालेको तत्कालीन सरकारले कोरोना भाइरस र भूकम्पको बेलामा पनि अर्थतन्त्रलाई लयमा राखेको तर अहिलेको सामान्य अवस्थामा पनि किन असामान्य परिस्थिति भएको छ ? भन्दै प्रश्न गरे । उपाध्यक्ष पौडेलले देशको आर्थिक संकट कल्पनातित रहेको भन्दै मुलुकले भोगिरहेको अर्थ संकटलाई केस वाइज विश्लेषण हुनुपर्ने आवश्यक्ता रहेको बताए ।
उपाध्यक्ष पौडेलले सरकारमा बसेर निजी स्वार्थका लागि नीति निर्माण गर्ने हो भने तत्कालका अर्थतन्त्रका समस्या समाधान गर्न नसकिने बताए । उनले अर्थतन्त्रमा देखिएको अहिलेको समस्या समाधान गर्न सरकार, निजी क्षेत्र, सहकारी क्षेत्रलगायतका आर्थिक क्षेत्रका सबै पक्षहरुको सहभागितामा छलफल हुनु जरुरी रहेको बताए । उनले सबै क्षेत्रहरु बसेर निकालिएको निस्कर्षलाई समान ढंगले कार्यान्वयन गर्नुपर्ने बताए ।
उपाध्यक्ष पौडेलले हाल आर्थिक क्षेत्रमा असाधारण समस्या रहेको भन्दै साधारण समस्याको समाधान पनि असाधारण हिसावमै हुनुपर्ने बताए । उनले मुलुक आर्थिक क्षेत्रमा असाधारण संकटको डिलमा पुगेको भन्दै प्रचलित अभ्यासबाट अहिलेका आर्थिक क्षेत्रका समस्या समाधान गर्न नसकिने बताए । उनले सरकारसँग निजी क्षेत्रको विश्वास टुट्दै गइरहेको पनि बताए ।




















