काठमाडौं । आमनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुनुअघि नै पहिलो दलको रुपमा देखापरेको नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री बन्नका लागि दौडधुप थालेका छन् ।
४ मंसिरमा भएको निर्वाचनको प्रत्यक्षतर्फकै मतपरिणाम आइसकेको छैन । तर, कांग्रेस नेताको भने प्रधानमन्त्री बन्न दलीय सहमतिका लागि दौडधुप तीव्र पारेका छन् ।
कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, शशांक कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेलसहितका नेता प्रधानमन्त्रीको आकांक्षीको रुपमा देखिएका छन् ।
प्रधानमन्त्री बन्न उद्देश्यसहित समर्थनका लागि प्रकाशमान सिंहले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । यसलगत्तै सोमबार बिहानै नेता रामचन्द्र पौडेल कोटेश्र्वर पुगेर एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरे ।
प्रधानमन्त्री बन्ने गरी संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने महामन्त्री गगन थापाले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । काठमाडौं ४ का मतदाताले यसपटक आफूलाई प्रधानमन्त्री बन्न मत दिएको बताउँदै थापाले संसदीय दलको नेता र प्रधानमन्त्री बन्न प्रतिस्पर्धामा उत्रिने बताइसकेका छन् ।
तर, पार्टीका दुई शीर्ष नेता पनि दलीय छलफलमा लागेका छन् । आइतबार एमाले अध्यक्ष ओलीलाई भेटेर नेता सिंहले आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न आग्रह गरेका थिए ।
सोमबार बिहान नेपाल निवास कोटेश्वर पुगेका नेता पौडेललाई अध्यक्ष नेपालले सकारात्मक जवाफ दिएका छन् । अध्यक्ष नेपालेले पौडेललाई प्रधानमन्त्री बनाउन आफू र आफ्नो पार्टी सकारात्मक रहेको जवाफ दिएका छन् ।




















