काठमाडौं । निर्वाचन आयोगले काठमाडौं उपत्यकालगायत केही जिल्लामा आज रातिदेखि नै मतगणना हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं उपत्यकासहित केही जिल्लाहरुमा मतपेटिका ल्याउने काम भइरहेको र मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठक बसेर आजैदेखि मतगणना सुरु गरिने बताए ।
‘निर्वाचन सम्पन्न भएलगत्तै मतपेटिका ल्याउने काम तीव्र पारिएको छ। मतपेटिका ल्याइसकेपछि काठमाडौं उपत्यकालगायत केही जिल्लामा आज रातिदेखि नै मतगणना सुरु गर्न निर्देशन दिएका छौं,’ पत्रकार सम्मेलनमा उनले भने ।
उनले प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतपत्र मतपेटिकामा अदल बदल भएको गुनासो आएकाले त्यसलाई बदर नहुनेगरी दलीय समतिमा गणना गरिने बताए ।
त्यस्तै हिमाली क्षेत्रका ७ जिल्लमा नेपाली सेनाको हेलिकोप्टरबाट मतपेटिका सदरमुकाम ल्याउने काम भइरहेको उनको भनाइ छ। बिहान ४ बजेसम्म मतपेटिका ल्याइ ती क्षेत्रमा मतगणनाको काम सुरु गरिने उनले बताए ।




















