काठमाडौं । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहित नदेखिएको बताएका छन् ।
आईतवार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरुमा उत्साजनक रुपमा मतदाताहरुको उपस्थिति नपाएको बताएका हुन् ।
उनीहरुले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाताहरु भोट हाल्न पुगेको पाएको बताए । आईतवार दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जिओक) ले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढेपनि मतदाताहरुको उपस्थिति कम पाएको बताए । उनले उपस्थित मतादाताहरुमा मतदान उत्साहजनक रहेको बताए ।
त्यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले मतदाताहरुको उपस्थिति तुलनात्मक रुपमा कम पाएको बताए । उनले सुरक्षा व्यवस्थामा भने कतै खुकुलो र कतै कडा पारिएको पाएको बताए ।
उनले भने, ‘मतदाताहरुको उपस्थिति तुलनात्मक रुपमा कम जस्तो देखिएको छ, विगतको तुलनामा । सुरक्षाकर्मीहरु सबै ठाउँमा एकै किसिमको चुस्त नभएको जस्तो देखिन्छ । कतै भित्र गएर निस्किँदा हुन्छ भनियो भने हामीलाई जान दिने आदेश छैन भनियो । कोर शहरी एरियामा उपस्थिति अलि कम थियो । बाहिर नयाँ बस्तीमा उपस्थिति बाक्लो थियो ।’
त्यस्तै पूर्व गृहसचिव खेमराज रेग्मीले शान्त र सौहाद्रपूर्ण वातावरणमा निर्वाचन भएको पाइएको बताए । उनले काठमाडौं उपत्यकाका कोर एरियामा भने मतदाताहरुको उत्साह कम देखिएको बताए ।
त्यस्तै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मतदान अधिकृत र मतदान केन्द्रका कर्मचारीहरुले नै मतदाताको उपस्थिति कम रहेको बताए । उनले मतदान केन्द्रमा चाप कम रहेको बताए । उनले मतदान गर्न आएकामध्ये वृद्धवृद्धा, महिला, अपाङ्गको उल्लेख्य उपस्थिति देखिएको र मतदान शान्त रहेको बताए । उनले मतदात स्थलमा कुनै दबाब नरहेको बताए ।
त्यस्तै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले वितका निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा मतदाताहरुको उपस्थिति कम रहेको बताइन् । उनले यस निर्वाचनमा ७० प्रतिशत मतदान हुने आँकलन गरिन् । उनले विगतका निर्वाचनको जस्तो माहोल नदेखिएको बताइन् ।
त्यस्तै पूर्व मुख्यसचिव तीर्थमान शाक्यले विगतको जस्तो उत्साह यस पटकको निर्वाचनमा नदेखिएको बताए ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैचरणमा देशभर भइरहेको छ । आज साँझ ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ ।




















